काठमाडौं— गत आर्थिक वर्ष २०७९-८० मा चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले पाँच अर्ब ९६ करोड रुपैयाँ बराबर मात्रै खुद प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ ।
गत आवमा शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।
०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २६ दशमलव ६ प्रतिशतले वृद्धि भई ०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये बैंकमा रहेको सञ्चिति ०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा ०८० असार मसान्तमा २७ दशमलव ४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति अघिल्लो आवको तुलनामा गत आव चार प्रतिशतले वृद्धि भई एक खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । गत असार मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ५ प्रतिशत छ ।
आव ०७९-८० को आयातलाई आधार मान्ने हो भने बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव ७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।