टीकापुर— कैलालीको टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् ।
उनीहरूले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरू तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यस्त छन् ।
यसरी दैनिक ५० किलो अचार उत्पादन हुने गरेको महिला उद्यमी कल्पना जैशीले बताइन् । ‘आँपको अचार सबै बिक्री भयो,’ उनले भनिन्, ‘दैनिक ५० किलो अचार उत्पादन गर्छौं, मागअनुसार अचार उत्पादन गर्ने गरेका र्छौं ।’
उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौं, नेपालगञ्जलगायत ठूला सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मंसिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् ।
उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झण्डै पाँच क्विन्टल बिक्री भइसकेको जैशीले बताइन् ।
यसैगरी, दुई क्विन्टल गुन्द्रुक र साढे तीन क्विन्टल सिन्की उत्पादन भएको छ । सिन्की र गुन्द्रुक सबै बिक्री भइसकेको छ । पहिलोपटक उत्पादन सुरु गरिएका कारण मागअनुसार सिन्की र गुन्द्रुक उत्पादन गर्न नसकिएको सिर्जना पण्डितले जानकारी दिइन् ।
‘सुरुआत भएकाले कच्चा पदार्थ जुटाउन नसक्दा मागअनुसार उत्पादन गर्न सकेनौँ,’ उनले भनिन्, ‘सिक्दैछौँ, उत्पादन बढाउँदै जान्छौँ ।’ गुणस्तर मापनका लागि उनीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाउने गरेका छन् ।
सत्र महिलाले एक–एक लाख रुपैयाँ लगानी गरी उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाएको छ । यसपटक मुला उत्पादक किसानले सोचेभन्दा राम्रो नाफा कमाउन सफल भएका छन् ।
विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताइन् ।
महिलाले उत्पादन गरेका सामान व्यापार महासंघले बजारीकरण गरिदिने भएको छ । उद्योगमा लगानी बढाउने, धेरै उत्पादन गर्ने, ठूला उपकरण थप्ने महिला उद्यमीको योजना छ ।