News Griha :: न्यूजगृह
मिटरब्याज पीडितसँगको सहमति हरहालतमा कार्यान्वयन हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र सामाजिक रुपान्तरणसहित समृद्धिको प्रक्रियामा देशलाई अगाडि बढाउने बताएका छन् ।

उनले सबै प्रकारका शोषण र उत्पीडनलाई अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नु सरकारको प्राथमिकता हुने बताए ।

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच शनिबार भएको पाँच बुँदे सहमतिका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याजको समस्या साझा सरोकारको विषय भएको बताउँदै त्यसलाई सरकारले जसरी पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘वास्तवमा प्राविधिक रुपले र अहिलेको सन्दर्भका कारणले दुई पक्षको बीचमा सहमतिमा हस्ताक्षर गर्नु परेता पनि यो साझा सरोकारको विषय हो, आजको २१औँ शताब्दीको लोकतान्त्रिक नेपाली समाजमा मिटरब्याज पीडितका समस्या हुनु र त्यसले आर्थिक पाटो मात्रै नभएर बहुआयामिक पाटोमा असर देखाइरहेको सन्दर्भमा हामी सबैले हरहालतमा सम्बोधन र समाधान गर्नुपर्छ,’ श्रेष्ठले भने ।

उनले मिटरब्याज पीडितले गरेको आन्दोलन न्यायपूर्ण आन्दोलन भएको बताउँदै दुई पक्षबीच भएको सहमति हरहालतमा कार्यान्वयन हुने विश्वास दिलाए ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २१:५२
Weather Update