मुगु— मुगु जीप दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।
सोमबार भएको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भए पनि अस्पतालमा सिटिस्क्यानलगायतका मेसिन नहुँदा समस्या र जटिलता पहिचान गर्न चिकित्सकलाई कठिनाइ भएपछि घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।
वर्षाको पानीले कर्णाली राजमार्गअन्तर्गत गोठी जिउँला–गमगढी सडकखण्डको ठाउँ-ठाउँमा पहिरो गएको र रारा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयले हवाई सेवा दिउँसो सञ्चालनमा नरहेकाले घाइतेको थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाइएको मुगु जिल्लाका संघीय सांसद ऐनबहादुर शाहीले जानकारी दिए ।
जिल्ला अस्पातलमा उपचार सम्भव नहुने भएपछि घाइते चारै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पहल गर्न जिल्ला अस्पातल मुगुबाट मंगलबार जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्र लेखेर जानकारी गरिएपछि सोही पत्र आफूले गृह मन्त्रालय, संघीय सांसद, प्रदेशसभा सदस्यलाई आवश्यक पहलका लागि पठाएको र उनीहरूको पहलमा घाइतेको थप उपचार गर्न नेपाल सरकारले हेलिकप्टरको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।