
चितवन— आँखा पाक्ने रोगका बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको संख्या पछिल्ला दिनमा घट्दै गएको हो ।
आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अस्पताल जाने क्रम घटेको छ । अस्पताल जानेमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी रहेका छन् ।
भरतपुर आँखा अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल र यसअन्तर्गतका अस्पताल तथा आँखा उपचार केन्द्रमा सोमबार एक हजार चार सय २१ बिरामी उपचारका लागि आएका थिए । तीमध्ये आठ सय ३१ जना (५८ दशमलव ४८ प्रतिशत) आँखा पाक्ने रोगका बिरामी छन् ।
भरतपुरमा रहेको मुख्य अस्पतालमा पाँच सय ४६ बहिरंग (ओपीडी) का बिरामी आएकोमा एक सय ६६ आँखा पाक्ने रोगका रहेका थिए ।
यस हिसाबले ३० दशमलव ४० प्रतिशत मात्रै आँखा पाक्ने रोगका बिरामी छन् । सेकेण्डरी आँखा अस्पताल ठोरीमा दुई सय २० बिरामीमध्ये एक सय ४४ जना (६५ दशमलव ४५ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।