देशभर डेंगुबाट १३ हजार जना संक्रमित, सतर्कता हुन आग्रह

काठमाडौं— देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार २९२ जना बिरामी परेका छन् ।
डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण सरसफाइमा ध्यान नदिँदा डेंगुको संक्रमण बढिरहेको बताए । उनले दैनिक संक्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे ।
‘दैनिक डेंगुको संक्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनु पर्दछ,’ उनले भने, ‘डेंगु संक्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।’
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको संक्रमण देखिएको थियो । गत वर्ष ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए । सोही अवधिमा ८८ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १६:४८