News Griha :: न्यूजगृह
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ देखि जेठ ५ गते सकिएको परीक्षाको नतिजा मंगलबार साँझ ६ बजे सार्वजनिक भएको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेकाले नतिजा सार्वजनिक भएको जानकारी दिए ।

कक्षाको १२ को परीक्षामा देशभरबाट चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ । त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनु पर्ने बाध्यता थियो ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । 

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । 

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाउन सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:१०
Weather Update