काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीमा सोमबारको तुलनामा मूल्य घटेको छ । सार्वजनिक मूल्यअनुसार हरियो तरकारीमा सोमबार १० देखि ५० रुपैयाँसम्म आकासिएको मूल्यमा मंगलबार समायोजन भएको छ ।
हरियो तरकारीको मूल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्म घटेर आएको छ । मंगलबार बजारमा गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँले घटेको छ । सोमबार प्रतिकेजी गोडभेँडा १६० रुपैयाँ न्यूनतम कायम भएको मूल्य मंगलबार १४० रुपैयाँ तोकिएको छ ।
लोकल सानो गोलभेँडाको मूल्य सोमबारको तुलनामा १० रुपैयाँले घटेर ६० रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलुको न्यूनतम मूल्य ५० रुपैयाँ पुग्दा भारतीय सुकेको प्याजमा पनि प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । मंगलबार स्थानीय काउली हिजोको तुलनामा ३० रुपैयाँले घटेर प्रतिकेजी ५० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।
हिजो काउली प्रतिकेजी ८० रुपैयाँ तोकिएको थियो । कन्य च्याउको मूल्य सोमबारको तुलनामा मंगलबार स्थिर रहेको छ । च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ । डल्ले च्याउ भने प्रतिकेजी ५० रुपैयाँले बढेर मंगलबार ३५० रुपैयाँमा किनबेच हुने समितिले जनाएको छ ।
गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ७०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ५०, परवल ५५, घिरौला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य मंगलबारको तुलनामा स्थिर प्रतिकेजी ३५० रहेको छ । कागती १२०, अनार ३५०, तरबुजा हरियो ७०, मौसम १५०,कालो अंगुर ४०० र नासपाती लोकल ६० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।