News Griha :: न्यूजगृह
वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकीमा पूर्ण खोप कार्यक्रम सञ्चालन

पाेखरा— वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको छ ।प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

गण्डकीका ८५ पालिकामध्ये १ महानगरपालिका, २३ नगरपालिका र ३८ गाउँपालिकाका ५८० वडामा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गृष्म न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गाईभैंसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बंगुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पीपीआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको हो ।

गत आर्थिक वर्षमा मात्र खोरेतको ६ लाख २८ हजार ६१५ डोज, चरचरे र भ्यागुतेको ३ लाख ९६ हजार ५०, क्लासिकल स्वाइन फिभरको ८० हजार १३८, पीपीआरको ११ लाख ८४ हजार ६० र रेबिजको ४२ हजार २८० डोज खोज लगाइएको मन्त्रालयले जनाएको छ ।

पूर्ण खोप कार्यक्रमका लागि गत आवमा १३ करोड ७४ लाख रुपैयाँ खर्च भएको डा.न्यौपानेले बताए । ‘यस वर्ष पनि पूर्ण खोप कार्यक्रमले निरन्तरता पाउँछ, विभिन्न रोगव्याधिका कारण हुने पशुधनको क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो,’उनले भने,‘प्रदेशका सबै पशुपालक किसानको घरगोठमा खोप सेवा पुर्‍याउने लक्ष्य मन्त्रालयको छ ।’

अहिले गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका विरुद्ध पनि खोप अभियान सञ्चालन भइरहेको छ । प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा उक्त खोप लगाइएको मन्त्रालयले जनाएको छ । गाईभैँसीका फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०७:२२
Weather Update