
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले हरेक नागरिकले निशुल्क उपचारको सुविधा पाउने बताएका छन् ।
लिभर फाउण्डेशन नेपालद्वारा विश्व अंग दान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कोही पैसा नभएर मर्न नपर्ने भन्दै त्यसको व्यवस्था राज्यले गरिरहेको बताए ।
‘देशभरि गरिब निमुखाको स्वास्थ्य निःशुल्क उपचार गर्ने भनेर अभियान चलाएर बसेको मान्छे, कोही मान्छे पैसा नभएका कारण उपचार नपाएर मर्नु पर्दैन त्यसको जिम्मा राज्यले लिन्छ, म लिन्छु,’ उनले भने, ‘कसरी व्यवस्था गर्ने हामी गरिरहेका छौँ ।’
मन्त्री बस्नेतले एउटा मन्त्रीले गलत निर्णय लिँदा पूरै देश बिग्रने भएकाले आफू अरुको कुरा नसुनी स्वास्थ्य क्षेत्रलाई सुधारेर कर्मचारी व्यवस्थापनमा सक्रियतापूर्वक लागेको दाबी गरे ।
निजी भन्नेबित्तिकै राम्रो सेवा हुन्छ भन्ने भ्रम बढेकाले सरकारी शिक्षा र स्वास्थ्य क्षेत्रले प्राथमिकता नपाएको उनको गुनासो छ ।