News Griha :: न्यूजगृह
मन्त्रीले गरे निःशुल्क उपचार गराउन आग्रह
फाइल तस्बिर

चितवन— बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई आग्रह गरेका छन् ।

आइतबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका ८०१ शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन आग्रह गरेका हुन् ।

गत आर्थिक वर्ष २०७९–८० मा ती अस्पतालबाट सात लाख ५५ हजार २४ बिरामीले सेवा लिएका छन् । मन्त्री जोशीले भने, ‘अहिले गरिब र विपन्न नागरिकलाई निःशुल्क शय्या उपलब्ध गराएका छौँ, आगामी दिनमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्दै जानेछौँ ।’

प्रदेशका प्रयोगशालामा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै डेङ्गु परीक्षण निःशुल्क गरिएको जानकारी दिए ।

मन्त्री जोशीले प्रदेशभित्रका सिमान्तकृत, सबै आश्रममा रहेका व्यक्ति, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र स्वयम् सेविकालाई निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताए ।

उनले पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, उनीहरूलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापीको व्यवस्था गरिएको जानकारी दिए 

‘कमजोर आर्थिक अवस्थाका कारण कसैको उपचार रोकिनु हुँदैन,’ उनले भने, ‘प्रदेशका अन्य अस्पतालले १० प्रतिशत शय्या निःशुल्क गर्नु पर्छ ।’ निजी अस्पताललाई पनि यसअघि १० प्रतिशत शय्या निःशुल्क गर्न निर्देशन दिइसकिएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:५६
Weather Update