
काठमाडौं— पाकिस्तानी राष्ट्रपति आरिफ अल्बीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।
शनिबार राष्ट्रपति आरिफले अनवर–उल–हक काकरलाई कार्याहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका हुन् । राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१, ए) बमोजिम उक्त स्वीकृति दिएका हुन् ।
प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन् ।
कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो । उनी मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य बनेका थिए ।
उनी सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिण पश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित भएका थिए ।













