
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् ।
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ,नेपाल (पेट्सान) ले आयोजना गरेको एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य थापाले शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन् ।
संविधानले शिक्षा र सम्पत्तिको हकलाई सुनिश्चित र सुरक्षित गरेको भन्दै गुणस्तरीय शिक्षा प्रदानमा पेट्सानको अझ महत्त्वपूर्ण भूमिका रहने बताए ।
थापाले संसदमा टेबुल हुन लागेको शिक्षा विधेयकमा शैक्षिक गुठीको विषयलाई सम्बोधन गर्न आफूले पहल गर्ने धारणा राखे । उनले शिक्षक तथा कर्मचारीका माग पूरा गराउन पनि पहल गर्ने बताए ।
सिद्धार्थ वनस्थली इन्स्टिच्यूटको सभाहलमा भएको कार्यक्रममा संस्थाका राष्ट्रिय अध्यक्ष रुपक राजवंशीले शिक्षा विधेयकमा रहेका कतिपय प्रावधानहरू अव्यवहारिक रहेको बताए । त्यसलाई संशोधन र सम्बोधन गर्न थापालाई आग्रह गरे ।
कार्यक्रममा पेट्सान वरिष्ठ उपाध्यक्ष जेएस पौडेलले निजी विद्यालय शैक्षिक गुठीमा सहजै रुपान्तरण हुन सक्ने आकर्षक सुविधा केही नभएको धारणा राखे ।
कर छुटको सुविधा समेत सरकारले खोसेको भन्दै उनले यदि निजी विद्यालयलाई शैक्षिक गुठीमा जान प्रेरित गर्ने हो भने आकर्षक सुविधा दिन आवश्यक हुने उल्लेख गरे ।
कार्यक्रममा कांग्रेस महामन्त्री थापाले एसईई २०७९ मा उत्कृष्टता हासिल गर्ने सदस्य विद्यालयका विद्यार्थीका साथै शिक्षक, कर्मचारी तथा वरिष्ठ शिक्षाविद्लाई सम्मान गरेका छन् ।














