News Griha :: न्यूजगृह
वर्षाका कारण कहाँ–कहाँ भयो सडक अवरुद्ध ?

काठमाडौं— देशभर वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । सडक विभागले ३८ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा जानकारी दिएको छ ।

अहिले तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरुद्ध रहेको सडक विभागले जानकारी दिएको छ ।

कालिगण्डकी करिडोरअन्तर्गतको तानसेन–रिडी–कोरला सडक म्याग्दीको बैसरीमा अवरुद्ध रहेको विभागले बेवसाइटमार्फत अद्यावधिक गरेको छ ।

रिडी–बालकोट–हंसपुर–प्युठान जोड्ने सडक सल्यानको अश्विनीमा अवरुद्ध रहेको पनि विभागले जानकारी दिएको छ । विभागको भनाइमा मनसुनजन्य गतिविधि सुरु भएयता २४ वटा राजमार्गमा क्षति पुगेको ।

२४ वटा राजमार्गको १८१ स्थानमा अवरुद्ध भएकाेमा १४० ठाउँमा दुवैतर्फ सञ्चालनमा ल्याइएको र ३८ ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको विभागले बताएको छ ।

बाढीपहिरोका कारण अहिलेसम्म राष्ट्रिय राजमार्ग २ हजार ८३ घण्टा अवरुद्ध भएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:२५
Weather Update