
पर्वत— मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो ।
पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तर्क्रियामा सहभागीले नेपालमा मात्र नभई विश्वमै कालीगण्डकी नदीको छुट्टै पहिचान र विशेषता रहेको तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको सभ्यता जोगाउनुपर्ने बताएका छन् ।
नदीको पर्यावरणीय संरक्षण र प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गरी नदीको सभ्यतालाई जोगाउनुपर्ने, पर्यावरण नखलबल्लिने गरी नदीजन्य पदार्थ उपयोग गर्नुपर्नेजस्ता विभिन्न विषयमा चर्चा–परिचर्चा गरिएको हो ।
कालीगण्डकीको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले कागवेनीबाट त्रिवेणीधामसम्मको कालीगण्डकीको सभ्यता जोगाउनका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं पर्यटकीय र पर्यावरणीय हिसाबले समेत उत्तिकै महत्त्वपूर्ण रहेको कालीगण्डकी नदी र शालग्राम शिला संकटमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको संरक्षण तथा विकासका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताए ।
उनले कालीगण्डकीको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आगामी फागुन ९ देखि २३ गतेसम्म बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आयोजना गरिएको बताए ।
कार्यक्रममा प्राध्यापक डा.जगन्नाथ रेग्मीले कालीगण्डकीको अस्तित्व जोगाउन नसके मानव जीवन नै संकटमा पर्ने बताए । जन्मेदेखि मृत्युपर्यन्त आवश्यक गण्डकीको जल संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा उनको जोड छ ।
पछिल्लो समय अवैध रूपमा भइरहेको नदीजन्य वस्तु उत्खननले कालीगण्डकी र शालिग्राम शिला संकटमा परेको जनाउँदै यस्तो गैरकानूनी कार्य तत्काल रोकिनुपर्नेमा जोड दिए ।
कालीगण्डकी नदी धार्मिक एवम् पर्यटकीय हिसाबले उत्तिकै महत्त्वपूर्ण रहेकाले यसको उचित संरक्षण र संवर्द्धन गर्न सकेमा सिंगो मुलुकको अर्थतन्त्र माथि उकासिने उनको भनाइ छ ।
कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्वमन्त्री विकास लम्सालले कालीगण्डकीको सभ्यता संरक्षणका लागि आफू लामो समयदेखि सक्रिय रहँदै आएको जनाउँदै मुक्तिनाथबाट देवघाटसम्मको नदीको अस्तित्व जोगाउनका राज्यले नै ध्यान दिनुपर्ने बताए ।
गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले धार्मिक,सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण पवित्र कालीगण्डकीको संरक्षणका लागि प्रदेश सरकारमार्फत पहल गर्ने प्रतिबद्धता जनाए ।
अवैध रूपमा नदी दोहन रोक्न, शालिग्राम शिलाको संरक्षण लगायत नदी वरपर पाइने जलचर, थलचर समेतको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउने बताए ।













