
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफू गम्भीररहेको बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बित्तिकै मिटरब्याजी समस्या समाधानका लागि ऐन बनाउन निर्देशन दिएको बताए ।
अहिले ऐन बनाउने कार्य पूरा हुने चरणमा रहेको भन्दै उनले अहिले गृहमन्त्री पनि आफू नेतृत्वकै पार्टीले पाएको र गृहमन्त्री पनि मिटरब्याज समस्याको समाधानका लागि गम्भीर रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले पीडितहरूलाई तत्काल राहत हुने र दीर्घकालसम्म पनि हुने गरी समस्याको समाधान गरिने बताए । उनले भने, 'म नै प्रधानमन्त्री भएको बेलामा यो समस्याको दीर्घकालीन ढंगले समस्या समाधान गर्नुछ। तत्काल पनि केही गर्नुछ ।'
मिटरब्याज समस्याको तत्काल समाधानका लागि केही दिन अघि मात्रै उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको प्रधानमन्त्रीले जानकारी गराएका थिए ।
मिटरब्याजी साहुकारहरूलाई तत्काल फिल्डमा गएर सिधै कारबाही गर्न सक्ने न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने अधिकारसम्पन्न आयोग बनाइने आश्वासन दिँदै उनले आफू प्रधानमन्त्री भएको बेलामा मात्रै यी समस्या समाधान हुनसक्ने भएकाले नै आफू यसमा गम्भीर ढंगले लागेको बताए ।
यसअघि पनि खुमलटारमा मिटरब्याज पीडितहरूसँग आफूले भेटेको र उनीहरूको समस्या समाधानका लागि पहल गरेको प्रधानमन्त्री स्मरण गरे । 'तर, ऐनको अभावमा त्यो प्रभावकारी हुन सकेन, त्यसैले अहिले ऐन बनाउन लागेका छौं, प्रधानमन्त्रीले भने। ऐन बनाउँदा पीडितहरूसँग पनि सल्लाह सुझाव लिएर अगाडि बढ्ने प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री प्रचण्डले भने,'के गर्यो भने त्यो ऐनलाई अझै प्रभावकारी ढंगले व्यवहारमा लान सकिन्छ भन्ने सुझाव तपाईंहरुबाट लिन म तयार छु ।'













