News Griha :: न्यूजगृह
जुम्लाका स्वतन्त्र सांसद शाही कांग्रेसमा फर्किए, टिकट नपाएका कारण विद्रोह गरेको भनाई

जुम्ला— स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेश सभामा निर्वाचित सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किएका छन् ।

सांसद शाहीले शनिबार पत्रकार भेटघाट गरेर कांग्रेसमा फर्किएको बताएका हुन् । शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए ।

‘स्वतन्त्र लड्नु मेरो बाध्यता थियो, जनमत भएको व्यक्तिलाई टिकट नदिँदा समस्या भएको हो, अब समय परिस्थिति अनुसार सहकार्य हुन्छ’ उनले भने ।

गत मङ्सिरमा भएको प्रदेश सभा निर्वाचनमा शाही जुम्ला (१) बाट ९ हजार ६ सय ५४ मत ल्याएर विजयी बन्दा कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंग शाही ७ हजार ७ सय ५५ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए ।

निर्वाचित भएदेखि कर्णालीको विकास र समृद्धिमा लागिरहेको बताउँदै शाहीले अब पार्टी र जनताको सुझावका आधारमा काम गर्ने बताए ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २०:३४
Weather Update