
पोखरा— पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ ।
आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।
महानगरले प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पञ्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना बसेका थिए । तर उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको थियो ।
मेयर आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेका राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले बताए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने उनले माग गरे । लखन थापाप्रति पनि सम्मान गर्ने तर पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने गुरुङको भनाइ छ ।













