News Griha :: न्यूजगृह
कानुन तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला

काठमाडौं—  नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले कानुन तोडमोड गरेर निर्दोषलाई फसाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । 

सुशासन र मुलुकको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले कानुन सबैका लागि समान भनेर बनाए पनि व्यवहारमा नदेखिएको गुनासो गरे ।

‘हामी कानुन किन बनाउँछौ । सय जनामा एकजना अपराधी हुन्छ भने त्यसको लागि कानुन बनाइन्छ । तर कानुन सबैको लागि बराबर हो,’ उनले भने,  ‘कानुनलाई तोडमोड गरेर निर्दोषलाई पनि हामी दोषी बनाउँछौ । सबै समान हो भनेर भन्न त भनिन्छ ।’

त्यस्तै उनले मानिसको चेतनाको स्तर नउठेसम्म समाज परिवर्तन हुन नसक्ने बताए। ‘विवेक भनेको सबैभन्दा महत्वपूर्ण कुरा हो । विवेक जबसम्म मान्छेमा हुदैँन, तबसम्म समाजमा परिवर्तन ल्याउन सक्दैनौ । विवेक मानिसमा ६ देखि १८ वर्षको उमेरसम्म आउँछ,’ उनले भने, ‘हामी जुन सुशासनको कुरा गर्छौ, त्यो सबै नैतिकता हो, नैतिकवान् व्यक्ति हुने हो भने सुशासनको कुरा नै आउँदैन । आफै सुशासन हुन्छ । तर त्यो नैतिक चरित्र निर्माण गर्दा धेरै ध्यान दिनुपर्छ ।’ 

आफ्नो नैतिकता र चरित्र राम्रो बनाउने हो भने सबै समस्याको समाधान हुने उनको भनाई छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १९:३७
Weather Update