
काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा आफू छक्क परेको बताए ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले कांग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भनी प्रश्न समेत गरे । अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरूले टिप्पणी समेत नगर्ने बताए ।
उनले भने, ‘देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरूले जान्ने कुरा हो । म केही पनि भन्दिन । मेरो कुनै कमेन्ट छैन । २०१५ सालको संसद्मा एक पल्ट केदारमान व्यथितजीले होला । पुच्छरले कुकुर हल्लाउने कि कुकुरले पुच्छर हल्लाउने भनेर प्रश्न गर्नुभएको थियो । नेपाली कांग्रेसका साथीहरूलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली कांग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरूको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन ।’













