News Griha :: न्यूजगृह
विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली

काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ ।

३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्द्धनका लागि र्‍याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एअरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगी सम्पन्न भएको थियो ।

र्यालीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताए । उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए । मुलुकमा अहिले विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७र७८ मा चार पाङ्ग्रे सवारी साधन (कार, जीप) दुई सय ४९ आयात गरिएकामा गत आर्थिक वर्षमा चार हजार पाँच सय ७० आयात गरिएका थिए । तीन वर्षमा आयात भएका विद्युतीय सवारी साधनको सङ्ख्या छ हजार छ सय २६ रहेको छ । साथै, ६० विद्युतीय बस आयात गरिएका प्राधिकरणले जनाएको छ । तीन वर्षमा नौ हजार सात सय ९० दुई पाङ्ग्रे सवारी साधन आयात गरिएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:४४
Weather Update