News Griha :: न्यूजगृह
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार
फाइल तस्बिर ।

कास्की— पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् ।

गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् ।

२०७८ फागुन १ देखि लागू हुनेगरि प्रदेश सरकारले भाडादर समायोजन गरे पनि ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनगुनासो आउन थालेपछि मन्त्रालयले चालकलाई मिटर प्रणालीमा गुड्न सहमत गराएको हो ।

प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारवाला पक्षसँगको अन्तरक्रियामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरू मिटरमा हिँड्न तयार रहेको बताए । 'विगतमा भएका सहमति पालना गर्न हामी तयार छौँ । ट्याक्सी व्यवसायीको मर्का पनि सरकारले बुझिदिनुपर्‍यो,' उनले भने, 'महँगीका आधारमा भाडादर समायोजन हुनुपर्छ, स्वचालित भाडादर कायम हुनुपर्छ ।” 

ट्याक्सी व्यवसायीलाई मात्र दोष थोपर्ने गरिएको भन्दै इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीले मिटर प्रणालीमा आउने समस्या लगायत विषयमा सरकार गम्भीर बन्नुपर्नेमा अध्यक्ष तिवारीले जोड दिए । २ वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नसाथ(फ्ल्यागडाउन) ८० रुपैयाँ र त्यसपछि प्रतिदुई सय मिटरको १० रुपैयाँ तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी३७.५० रुपैयाँ कायम गरिएको थियो ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:३७
Weather Update