News Griha :: न्यूजगृह
श्रमिकको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

काठमाडौं— नेकपा एमाले महासचिव शंकर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनु पर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा वृद्धि हुन नसकेको टिप्पणी गरे ।

भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को दशौँ प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले यही साउन १ गतेदेखि नै लागू भइसक्नु पर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट तय हुन नसकेकामा दुःख व्यक्त गरे ।

सरकारको श्रमिक नीतिमा रहेको समस्याका कारण प्रत्येक वर्ष साढे सात लाख श्रमिक रोजगारीका लागि विदेशिनु परेको उल्लेख गर्दै उनले अवैधानिक पुँजीलाई प्रश्रय दिनु र वैधानिक पुँजीलाई निरुत्साहित गरिनुले समृद्धि हासिल नहुने बताए ।

उनले भने, ‘देश आर्थिक मन्दीमा रहेको प्रचार गरिएको छ तर, हाम्रा छिमेकी चीन र भारत दुवै देशमा आर्थिक मन्दी छैन, यदि देशमा मन्दी भएको हो भने जनता समस्या परेका हुन् भने व्यापारीले रु ४० अर्ब फाइदा कसरी कमाए ?’

जिफन्टका संरक्षक तथा एमालेका उपमहासचिव विष्णु रिमालले बदलिँदो स्थितिमा जिफन्टले आफूलाई निर्माताहरूको संगठन बनाउनु पर्ने बताए ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:००
Weather Update