
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन समिति बनाउन नदिएर आफै छानबिन गर्छु भन्नु गम्भीर आपत्ति भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने ‘सुन प्रकरणको छानबिन किन आफैं गर्छु भन्नुहुन्छ ? यसको अर्थ र रहस्य गम्भीर छ, यो यतिकै छानबिन गर्न नदिएको हैन नि ?’
यही सरकारको पालामा २२ पल्ट सुन तस्करी भएको बताउँदै उनले एकपटक समातिएको र त्यसको आफैँले छानबिन गर्छु भन्नु गम्भीर आपत्तिको कुरा भएको बताएका छन् ।
‘२२ पल्ट सुन तस्करी भयो, एक पल्ट पक्राउ पर्यो, २२ क्विन्टल पास भइसक्यो, पक्राउ पर्दाको कहानी बेग्लै छ, यहाँहरू छानबिन समिति निष्पक्ष समिति बनाउन मान्नु हुन्न,’ उनले भने, ‘हामी छानबिन गरिहाल्छौँ नि भन्ने, ए बा बा तपाईहरूले नै छानबिन चाहिँ किन गर्नु पर्यो ? पहिले एयरपोर्टमा चाहिँ किन गर्नु भएन् । सियो र्छिदैन्, २२ क्विन्टल सुन कसरी छिर्यो ?’













