News Griha :: न्यूजगृह
राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो होइन : शेखर कोइराला

भक्तपुर— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो नभएको  बताएका छन् ।

भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर–२ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सभामा उनले राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्‍याउने बताए ।

सुन काण्डका बारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साधेको नेता कोइरालाको आरोप थियो । 

प्रतिशोधको भावना सुरू भए राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्‍याउने उनको भनाइ थियो । 

राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा राख्न नहुने नेता कोइरालाले बताए । 

कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कांग्रेस भक्तपुर २ का सभापति ओम श्रेष्ठलगायतले कांग्रेसले जनतासँग भिज्दै विकासको लहर ल्याउनु पर्ने तथा पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १७:०३
Weather Update