
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाकिस्तानी राजनीति जस्तो प्रतिशोधको खेल सुरु गरेको भन्दै आक्रोश पोखेका छन् ।
काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा ओलीले प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी राजनीतिको सिको गरेर प्रतिशोधको राजनीति थालेको तर्क गरेका हुन् ।
उनले भने, ‘मैले अस्ती प्रधानमन्त्री जीलाई भने यो अलि पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति उहाँले आज सुरु गर्नु भएको छ, उहाँलाई मजा लागेको छ, यो यही अन्त्य हुँदैन यो त सुरु भयो ।’
उनले नेपालको लोकतान्त्रिक प्रणालीमा कुनै योगदान नभएकाहरूको लोकतन्त्रको पक्षमा आवाज उठाउनलेलाई डण्डा चलाउन थालेको भन्दै प्रचण्ड इन्कित आक्रोश पोखे ।
उनले देशका लागि कुनै योगदान नदिएका दुई चार जनाको शासनमा हालिमुहाली रहेको आरोपसम्म लगाए । उनले पहिले हत्कडी लगाएर अनि छानबिन गर्ने प्रवृत्तिको विरोध गरे ।
‘पहिले हत्कडी लगाएर खोरमा थुनेर अनि छानबिन गर्ने के खालको जमना आयो यो ? पहिले समात्ने अनि छानबिन गर्ने, दोषी छ भने थुन्ने कि दोषी नभए पनि थुन्ने ?,’ उनले भने ।













