मोरङ— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समाज रुपान्तरणका निम्ति युवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका छन् ।
मोरङको विराटनगरमा अन्तर्राष्टिय युवा दिवसको अवसरमा मातृभूमि फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘समाज रुपान्तरणका निम्ति युवा पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता छ,’ मन्त्री मोदीले भने, ‘देशको परिस्थिती र समाजको आवश्यकतालाई ध्यानमा राखेर युवा पुस्ताले मुलुक निर्माणमा योगदान गर्न सक्नु पर्छ ।’
नेपालमा रोजगारीको अवसर नभएका कारण लाखौँ लाख युवाहरू खाडी मुलुकमा जान बाध्य भएको बताउँदै मन्त्री मोदीले उनीहरूको श्रम र सीपलाई उपयोगमा ल्याउने गरी सरकारले काम गरिरहेको समेत बताए ।
उनले थपे, ‘जो युवाहरु विदेशिएका छन्, त्यहाँ पनि बोटमा पैसा फलेको छ भनेर टिप्न गएका होइनन्, उनीहरुले रगत र पसिना बगाएर श्रम गरिरहेका छन्, उनीहरुलाई नेपालमै रोजगारीको प्रबन्ध गर्ने र युवाहरु विदेशिने क्रमलाई रोक्नेबाहेक सरकारसँग अर्को विकल्प छैन ।’
मन्त्री मोदीले भ्रष्टचारीहरूलाई कानुनी दायरामा ल्याई सुशासन कायम गरी देशमा रोजगारी सिर्जना गर्ने बाटोमा सरकार अगाडि बढिरहेको समेत बताए ।
कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरूले धारणा समेत राखेका थिए ।













