News Griha :: न्यूजगृह
ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति अस्थिर बन्यो : घनश्याम भुसाल 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक नयाँ बाटोमा जाँदै गर्दा केपी शर्मा ओलीको हस्तक्षेपले अस्थिर भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषाङ्क विमोचन कार्यक्रममा महासचिव भुसालले ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन सबै अस्थिर भएको बताए ।

‘हामी नयाँ बाटोतर्फ जाँदै गर्दा त्यो बाटोमा ओलीले हस्तक्षेप गरेपछि हाम्रो मुलुकको राष्ट्रिय राजनीति वाम आन्दोलन सबै अस्थिर भएको छ,’ उनले भने, ‘त्यसले गर्दा पाँच वर्ष गुमाएका छौँ, त्यो मुलुक र युवाहरूले गुमाएको समय हो ।’

महासचिव भुसालले देशको मुख्य समस्या बेरोजगारी भएको र देशको मुख्य आवश्यकता रोजगारी भएको पनि बताए  ।

‘कुनै देशमा उत्पादन बढेको छैन भने त्यहाँ युवाहरूमा रोजगारी छैन, मुलुक बन्दै गर्दा पनि त्यहाँ युवाहरू हुन्छ, बिग्रिदै गर्दा पनि युवाहरू हुन्छ,’ उनले थपे, ‘यस अर्थमा देशको मुख्य आवश्यकता र समस्या के हो भने बेरोजगारी समस्या रोजगारी यसको आवश्यकता हो, हामीले राजनीतिक खुट्टा टेकेर उठ्न सकेनौँ भने यो मुलुकमा रोजागरीको व्यवस्था हुँदैन् ।’

अहिलेको राजनीतिलाई वामपन्थी कोणबाट समेट्दै लानु पर्ने बताउँदै महासचिव भुसालले ८ महिनाभित्र नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषय आफ्नो ऐजण्डा सार्वजनिक गर्ने र राजनीति स्थापित गर्ने दृढता व्यक्त गरे । उनले अहिले एमाले ओलीसँग पलपलमा हारिरहेको जिकीर गरे ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:२९
Weather Update