News Griha :: न्यूजगृह
सूचना माग्दै समुदाय जागरण अभियान सुरु

काठमाडौं— सूचनाको हकका अभियानकर्मी सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम गर्न सक्रिय बनेका छन् । 

गत असार ३१ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम शनिबार घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरियो । झरीसँगै  अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए । 

सूचनाको हकका लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति काठमाडौं एवं काठमाडौं उपत्यका प्रदेश समितिको संयुक्त आयोजनामा काठमाडौं महानगर–२९ घट्टेकुलोबाट सुरु भएको अभियान मैतीदेवी मन्दिर क्षेत्रमा पुगेर समापन गरिएको थियो ।

‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ नाराका साथ सुरु भएको प्रभातफेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कसलाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

सूचनाको हकसम्बन्धी जागरणमूल गीतसहित गरिएको जागरणमा स्थानीयबासीको सक्रिय सहभागिता रहेको महासंघ उपत्यका प्रदेश समिति अध्यक्ष ताराबहादुर भण्डारीले जानकारी दिए ।

महासंघ, जिल्ला कार्यसमिति काठमाडौंले आगामी भदौ २ गते समुदाय जागरण कार्यक्रम गोकर्णेश्वर नगरपालिका–१ ओखरेनी, चिलाउने र मूलखर्क गाउँलाई केन्द्रित गरेर गर्ने भएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १२:३६
Weather Update