रामेछाप— मन्थलीको गर्मी छल्न रामेछापबासी र रामेछाप घुम्न आएकाहरूका लागि ताबेँडाँडा आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
ताबेँडाँडालाई धार्मिक, पुरातात्विक र आकर्षक दृश्यावलोकन स्थलको रूपमा विकास गर्न उमाकुण्ड गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम सुरु गरेको छ ।
उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमानामा पर्ने ताबेँडाँडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न आवश्यक काम सुरु गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । अहिले सो स्थानसम्म पुग्ने पदमार्ग, मन्दिर, च्छ्योर्तेन गुम्बालगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ ।
नेपाल सरकारको संस्कृति पर्यटन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा संरचना निर्माणका काम भइरहेका छन् । त्यस्तै, बागमती प्रदेशको पूर्वाधार कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भएको छ ।
उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत सो स्थानमा गोकुलगंगा गाउँपालिकाले एक करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गरेको छ । उमाकुण्ड गाउँपालिकाले पनि संरचना निर्माणका विभिन्न काम गरिरहेको छ ।
हिउँदमा हिउँ पर्ने र चैत वैशाखमा विभिन्न जातका गुराँस र चिमलले ढकमक्क ताबेँ क्षेत्र वर्षामा कुहिरोको लुकामारीले मनोरम देखिन्छ ।
रामेछापको सदरमुकाम मन्थली र दोलखाको जिरी जताबाट गए पनि ताबेँसम्म पुग्ने सडक बनेको छ । मन्थलीबाट रस्नालु, ठोसे हुँदै ताबेँडाँडा पुग्न सकिन्छ । रस्नालुबाट भुजीडाँडा हुँदै सोझै ताबेँ पुग्ने सडक पनि बनेको छ । दोलखाको जिरीबाट रामेछापको ठोसे निस्किएर पनि सो स्थानमा पुग्न सकिन्छ ।
सो स्थानबाट तलका भूभागका साथै हिम श्रृंखलाको दृश्यावलोकन निक्कै मनोरम देखिन्छ । स्थानीय परिकारका साथै ताबेँको आलु निक्कै मिठो र प्रख्यात त छ । आलु पनि ताबेँको यात्रामा थप विशेषता बन्न पुगेको छ ।













