
काठमाडौं— उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास सम्भव रहेको बताएका छन् ।
शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारी साधनको र्यालीमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युतीकरण गर्नु पर्ने बताएका हुन् ।
मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । उनले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्नेमा जोड दिए ।
‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ,’ उनले भने, ‘स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै समपूर्ण विद्युतीय सामग्रीको प्रचार प्रसार गर्नु पर्छ ।’
नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।













