News Griha :: न्यूजगृह
गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

बझाङ— जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा बस्छिन्, ८९ वर्षीया गिठीदेवी जोशी ।

गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाएकी छन । नागरिकताको आवश्यकताबारे थाहा नहुँदा उनी नागरिकताविहीन थिइन् । सरकारले दिने सेवाबारे उनी जानकार थिइनन् जसका कारण सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घर मै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेका थिए । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

नातिभन्दा पछि बज्यैको नागरिकता

मष्टागाउँपालिका-३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याए । जेठी श्रीमतीबाट एउटा मात्र छोरा भएपछि थप सन्तान प्राप्त गर्न कृष्णप्रसादले गिठीदेवीसँग बिहे गरेका हुन् । तर, उनीबाट सन्तान भएन । जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिएका हुन् गौरीलाल । उनी अहिले ६१ वर्षको भए ।

गौरीलालले २०४२ सालमै नागरिकता पाए । गौरीलालका छोरा छोरी पनि नागरिकता लिइसके  । कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन् । पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ । उनले भने, 'सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन ।' 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:४७
Weather Update