काठमाडौं— नागढुङ्गामा शुक्रबार गरिएको लागू पदार्थ सेवन (लापसे) चेकिङका क्रममा ३ जना चालक पक्राउ परेका छन् । उनीहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३-००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका-५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख ८२ २१ नम्बरको ट्रक चालक नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ का २८ वर्षीय अजय बिष्ट छन् ।
नियन्त्रणमा लिएका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार २५ वटा सवारी साधनका चालकलाई लापसे जाँच गरेको थियो । जसमध्ये ३ जना चालकले भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको फेला परेको हो ।
सवारी दुर्घटना न्यूनिकरणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा नियमित चेकिङका साथै विषेश चेकिङ समेत सञ्चालन गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।