
काठमाडौं— सीके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा सहभागी हुने भएको छ ।
स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो । 'राष्ट्रपति कार्यालयमा नाम पुगिसकेको छ, मन्त्रालय भने टुंगो लागेको छैन,' स्रोतले भन्यो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमत पार्टीले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए । जनमतले उद्योग र कृषिमध्येमा एक मन्त्रालय दाबी गरेको थियो ।
दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको हो । सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो । यसअघि सरकारमा सहभागी हुन जनमतले अनितादेवी साहलाई सिफारिस गरेको थियो । स्रोतका अनुसार जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मागेको छ । अहिले माओवादीका अमनलाल मोदी यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री छन् ।













