
अर्घाखाँची— मालारानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने भएको छ ।
गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापक, पालिकाका कर्मचारी एवम् जनप्रतिनिधिबीच अन्तरसंवाद गरिएको छ ।
पालिकाभित्र रहेका सामुदायिक विद्यालयको समस्या तथा विद्यालयले गर्नुपर्ने कार्य र पालिकाले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरसंवाद भएको गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताए ।
‘विद्यालयको अवस्थाका बारेमा जानकारीसँगै आगामी दिनको कार्ययोजनासमेत निर्माण गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नियमितरुपमा छलफल गर्नेगरी प्रधानाध्यापकसँग बैठक सम्पन्न गरेका छौँ’,उनले भने ।
वडास्तरमा रहेको शिक्षा समितिले कार्यतालिका नै बनाएर काम गर्नेगरी निर्णय भएको पालिकाका सामाजिक विकास समितिका संयोजक तिलक मिश्रले बताए ।
उनले भने,‘कक्षा ५ को उपलब्धि परीक्षण भदौको पहिलो हप्ताभित्र गर्ने, वडा शिक्षा समितिले केन्द्र निर्धारण र परीक्षा व्यवस्थापन गर्ने, प्रश्नपत्र कार्यालयले निर्माण गर्ने र विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण गर्ने, प्रधानाध्यापकको बैठक र अभिभावकबीच अन्तर्क्रिया भदौको पहिलो हप्ताभित्र वडा शिक्षा समितिले गर्नेगरी निर्णय भएको छ ।’
पालिकाभित्रबाट एसईई परीक्षाको नतिजाको समेत समीक्षा गरी आगामी दिनमा नतिजा राम्रो बनाउन सरोकारवालाको भूमिकाका विषयमा छलफलसँगै कार्ययोजना निर्माण भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले जानकारी दिए ।













