News Griha :: न्यूजगृह
शिक्षक महासंघको आन्दोलन : कहिले के गर्ने ? [सूचीसहित]

काठमाडौं— नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बिहीबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐन २०८० (शिक्षा विधेयम ऐन बन्ने प्रक्रियामा) ले प्रबन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार,पेसागत सुरक्षा र स्वाभिमानको विरुद्धमा रहेका भन्दै पहिलो र दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

पहिलो चरणको कार्यक्रम 

१. पालिका कार्यालयमा धर्ना

२०८० साउन २८ गते आइतबार देशका हरेकमा पालिका कार्यालयमा सम्बन्धित पालिकाका शिक्षक तथा कर्मचारी उपस्थित भई ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना दिने ।

धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतीका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारीपत्र पालिका समक्ष पेसगर्ने ।

कार्यक्रमको संयोजन महासंघ र आबद्ध/सम्बद्ध संस्थाका पालिका समितिले गर्ने ।

जिल्ला समन्वय इकाइमा धर्ना

साउन ३० गते मंगलबार देशका हरेक जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा सम्बन्धित जिल्लाका शिक्षक तथा कर्मचारी उपस्थित भई ३ घण्टा (११ः०० बजे देखि २:०० बजेसम्म) धर्ना दिने ।

धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गर्ने । 

कार्यक्रमको संयोजन महासंघको जिल्ला समिति तथा यसका आबद्ध/सम्बद्ध संस्थाका जिल्ला समितिले गर्ने ।

प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना

साउन ३२ गते मंगलबार सबै प्रदेशका महासंघ तथा यसका आबद्ध/सम्बद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू जम्मा भई प्रदेशको सामाजिक विकास मन्त्रालयमा ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना दिने ।

धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गर्ने । कार्यक्रमको संयोजन महासंघको प्रदेश समिति तथा आबद्ध/सम्बद्ध संस्थाका प्रदेश समितिले गर्ने ।

संसद् सदस्यलाई जानकारी तथा पक्षीकरण

भदौ १ गते शुक्रबार सबै प्रदेश तथा संघीय सांसदसमक्ष सम्बन्धित जिल्लाका महासंघ तथा आबद्ध/सम्बद्ध संस्थाका नेतृत्वले ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति बुझाउँदै संघीय शिक्षा ऐन निर्माणमा विद्यालय शिक्षा र शिक्षक–कर्मचारीका मागमुद्दाको पक्षीकरणमा सहयोग गर्न आग्रह गर्ने ।

केन्द्रमा पक्षीकरण

यो अवधिमा महासंघ राष्ट्रिय समिति तथा आबद्ध/सम्बद्ध संस्थाको मुख्य नेतृत्वले नेपाल सरकार, राजनीतिक दलका मुख्य नेता, संसदीय दलका प्रमुख सचेतक, संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिका सांसदहरुसँग अन्तरक्रिया, भेटघाट, छलफल तथा पक्षीकरण गर्ने ।

दोस्रो चरण 

काठमाडौंमा बृहत् प्रदर्शन

नयाँ संघीय शिक्षा संसदमा दर्ता भएको पाँचौं दिनबाट देशभरिका शिक्षक तथा कर्मचारी उपस्थित भई काठमाडौंमालगातार बृहत् विरोध प्रदर्शन गर्ने ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:४८
Weather Update