
काठमाडौं— निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।
शुक्रबार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।
मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक–२०८० विरुद्ध विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिबद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।
उनले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रस्तावित शिक्षा ऐन अघि बढाउने प्रतिबद्धता जनाएको बताए । उनले सरकारको आश्वासनअनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताएका थिए ।
‘आज मात्रै हामीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का ज्युको नेतृत्वमा रक्षा मन्त्रालयमा वार्ता ग¥यौँ, वार्तामा शिक्षामन्त्री, शिक्षा सचिव, कानून सचिव, रक्षा सचिव लगायत मन्त्रालयका प्रवक्तासमेतको उपस्थिति थियो,’ उनले भने ।
हाल कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन गरेका थिए ।













