
काठमाडौं— नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएको छ ।
शुक्रबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद शर्मा पक्राउ परेको विषयमा एमालेकी सांसद ज्वाला कुमारी साहले विरोध जनाएकी हुन् ।
‘आज नेपाली कांग्रेसको मान्य सदस्य सुनिल शर्मा जीलाई, जो सुन काण्डको विषयमा छानबिन समिति गठन गर्नु पर्छ भन्ने व्यक्तिलाई कुन हिसाबबाट समातिएको छ ?,’ उनले भनिन्, ‘उहाँलाई समात्न कानूनले पनि मिल्दैन, यसको घोर आपत्ति गर्न चाहन्छु ।’
सांसद साहले एक क्विन्टल सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्ने माग राखेकी थिइन् ।
मोरङ–३ बाट निर्वाचित कांग्रेस सांसद शर्मा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा बिहीबार दिउँसो काठमाडौंबाट पक्राउ परेका थिए ।
एक क्विन्टल सुन बरामद भएसँगै सांसद शर्माले संसदमा बोल्दै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु् पर्ने माग राखेका थिए । यदि, दुई मन्त्रीले राजीनामा नदिए संसद भवनमै अनशन बस्ने बताएका थिए ।













