
काठमाडौं— काठमाडौं महानगरले कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने प्रयास गरेपछि सुरु भएको विवाद शुक्रबार पनि जारी छ ।
शुक्रबार काठमाडौं महानगर–७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरको नगरप्रहरीको टोली कपनको साततले पुगेको छ ।
तर, काठमाडौं महानगरको कदममा कपनबासी विभाजित भएका छन् । केही स्थानीयबासीले महानगरको कदमको पक्षमा देखिँदा केही भने विरोधमा उत्रिएका छन् ।
केही स्थानीयबासीले खोलाले आंँखा देख्नु पर्ने धारणा राख्दै खोलाको व्यवस्थापन गर्दा कोही पीडित भए नगरपालिकाले हेर्नु पर्ने बताएका छन् ।

‘खोलाले आंँखा देख्नु पर्छ, खोला खोला हुनुपर्छ, जनताको सुनुवाइ हुनुपर्छ, राज्यले त्यसको व्यवस्थापन गर्नु पर्छ,’ उनले भने, ‘पीडितलाई नगरपालिकाले व्यवस्थित गर्नु पर्छ ।’
धरमरमा परेर बस्नुभन्दा स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचित हुने स्थानीयबासीको माग रहेको छ । ‘यो हिजो हालेको ढल निकाल्ने, दुई साइटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ, त्योअनुसार बनाएर जाउ त्यो मैले बुझेको छु, मेरो आलोचना एमाले हो चाहे उपमेयर होस चाहे मेयर, सहीलाई सही गलतलाई गलत भन्न सक्दैन भने किन बसिरहेको आजै राजीनामा दिए भइहाल्यो नि,’ एक स्थानीयले भने ।

बुधबार स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्न दिइएको थिएन् ।













