News Griha :: न्यूजगृह
सदन खुलाउन साथ माग्दै राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भेट

काठमाडौं— संसद् हुँदै आएको अवरोध हटाउन सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग सहयोग मागेका छन् । 

उनीहरूले शुक्रबार बिहान राष्ट्रपति पौडेललाई संयुक्त रुपमा भेटेर राष्ट्रको अभिभावककै हैसियतमा अवरुद्ध हुँदै आएको सदन खुलाउन आवश्यक पहल गरिदिन आग्रह गरेका हुन् ।

उनीहरूले संसद्मा दलहरूलाई राखेर सदन खुलाउन आफूहरूले अधिकतम प्रयास गरे पनि परिणाम निस्कन नसकेको बताएका थिए । शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा सदनमा देखिएको समस्याबारे राष्ट्रपतिलाई ब्रिफिङ गराएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बिहीबार साँझ राष्ट्रपतिसँग भेट वार्ता गरेका थिए । उनीहरूबीच समसामयिक राजनीतिको बारेमा छलफल भएको थियो ।

क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दै नेकपा एमालेले बिगत तीन सातादेखि सदन अवरुद्ध गर्दै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:३३
Weather Update