
काठमाडौं— नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजना र रणनीति केन्द्रीय कमिटी बैठकले पारित गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।
पार्टीको महाधिवेशनको निर्णय गर्ने प्रमुख जिम्मेवारी रहेको बैठकमा रिपोर्टिङ/राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र हाम्रो कार्यभार र विविध विषयमा छलफल गरिने छ ।
महासचिव भुसालका अनुसार केन्द्रीय कमिटी बैठक अगाडि पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते राखिएको छ ।
सबै जनवर्गीय संगठनको कार्य सम्पादनको समीक्षा गरिने उक्त बैठकमा जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे बहस गरिने छ ।
बैठकको निर्णयलाई मूर्त रूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्ष नेतालाई जिम्मेवारी प्रदान गरिने बताइएको छ ।













