News Griha :: न्यूजगृह
डेंगु संक्रमणबाट हेटौँडामा एक जनाको मृत्यु

हेटौँडा— डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा डेंगुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगुको संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए ।

पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ठेगाना नखुलेका ६ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए ।

चितवनका ३० जनामा डेंगुको संक्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेंगुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०९:५१
Weather Update