News Griha :: न्यूजगृह
अदालतको सेवालाई चुस्तदुरुस्त बनाउन कामु प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन

काठमाडौं— कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्तदुरुस्त एवम् सेवाग्राही मैत्री बनाउन निर्देशन दिएका छन् ।

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश एवम् उच्च अदालतका रजिष्ट्रार र जिल्ला अदालतका स्रेस्तेदारहरूलाई बिहीबार आफ्नो कार्यकक्षमा बोलाएर श्रेष्ठले उक्त निर्देशन दिएका हुन् ।

कामु प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा हुने अनावश्यक भीड नियन्त्रण गर्न र विकृतिजन्य क्रियाकलाप हुन नदिनका लागि अदालतको प्रवेशमा नियमन र व्यवस्थापन गर्न निर्देशन दिए  ।

‘अदालतका नियमित प्रयोगकर्तालाई पास वितरण गर्ने र अनावश्यकरूपमा अदालत प्रवेश गर्ने व्यक्तिहरूलाई निषेध गर्न कडाइका साथ पालना गर्नुस्’,उनले भने,‘अदातलको काम कारबाही तोकिएको समयभित्र सम्पादन गर्न, सेवाग्राहीलाई समयभित्र सेवा दिन र अदालत परिसरमा लामो समयसम्म भीडभाडको अवस्था आउन नदिन समय कार्ड लागू गर्नुस् ।’

सबै अदालतहरूमा विचाराधीन दुई वर्ष पुराना मुद्दाको शीघ्र फर्छ्योट अभियानका रूपमा कार्य सञ्चालन गर्न र अदालतबाट जारी भएका म्यादहरू पत्ता नलागेको (बेपत्ते तामेल) तामेल हुने क्रम बढाउन निर्देशन दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:२६
Weather Update