
काठमाडौं— देशका केही स्थानमा आज शुक्रबार वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
कोशी, मधेस, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढीपहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने महाशाखाले जनाएको छ ।













