
काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ ।
प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आजदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एअरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ ।
सिम्रिक एअरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ,त्यसैले प्राधिकरणले सिम्रिक एअरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको हो,’ सूचना अधिकारी भूलले भने ।
नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शूल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एअरको उडानमा रोक लगाइएको हो ।
भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम आज नै बुझाएको खण्डमा उडान गर्न दिइने छ ।
सिम्रिक एअरसँग रहेका ४ हेलिकोप्टरमध्ये १ बिग्रिएको र बाँकी ३ ले उडान भर्दै आएका थिए ।कम्पनीसँग २ वटा बेल र २ वटा एएस ३५० हेलिकोप्टर छन् ।













