News Griha :: न्यूजगृह
प्राधिकरणले रोक्यो सिम्रिक एअरका सबै उडान

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख नतिरेकाले शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एअरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ ।

‘सिम्रिक एअरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ,त्यसैले प्राधिकरणले सिम्रिक एअरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको हो’,सूचना अधिकारी भुलले भने ।

नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एअरको उडानमा रोक लगाइएको हो ।

भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम भोलि नै बुझाएको खण्डमा उडान गर्न दिइने छ ।

सिम्रिक एअरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए । कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २२:०७
Weather Update