खोलाले बगाएर बेपत्ता भएकाको शव फेला

महोत्तरी— महोत्तरीको सोनमा गाउँपालिकामा अवस्थित मरहाखोलाले बगाउँदा मंगलबार साँझ बेपत्ता भएका व्यक्तिको आज दिउँसो शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सोनमा गाउँपालिका–१ का तसलिम अन्सारीका छोरा ३८ वर्षीय जाबिर अन्सारीलाई मरहा बाढीले बगाएर बेपत्ता बनाएकाेमा आज दिउँसो उनको शव सोनमा गाउँपालिका–१ को गोबरहिया गाउँमा फेला परेको हो ।
गाउँको छेउबाटै बग्ने मरहा खोलामा मंगलबार साँझ बाढी आएको बेला खोला तर्ने क्रममा उनी बेपत्ता भएका थिए । आज नदीको पानी कम भएपछि उनको शव पानीभित्रै झाडीमा अडिएको अवस्थामा फेला परेको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १९:५९













