
काठमाडौं— नागरिकले चालक अनुमति पत्र (लाइसेन्स) पाउन डेढ वर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले छापिएर आएको अनुमति पत्र लिएका छैनन् ।
अहिले झण्डै दुई लाखभन्दा बढी अनुमति पत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमति पत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौं उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमति पत्र बुझ्न नआएका हुन् ।
अहिले सेवाग्राहीले चालक अनुमति पत्र नवीकरण गरेपछिको एक डेढ वर्षमा मात्रै पाउँदै आएका छन् ।
धेरै सेवाग्राहीले एउटा अनुमति पत्र नवीकरणका लागि निवेदन दिएर त्यो नआउँदै दोस्रो वर्गको सवारी साधनको अनुमति पत्रका लागि परीक्षा दिने गरेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए ।
उनले भने, ‘नयाँ छापिएर आएपछि सेवाग्राहीले नवीकरण गर्न दिएको अनुमति पत्र चाहँदैनन् र वर्षौंसम्म त्यसै रहन्छ ।’
एकै समयमा नवीकरणका लागि पनि आउने र अर्को प्रकारको ‘ट्रायल’ पास गरेर नयाँ लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको छ । पुरानो रद्द गरेर मात्रै नयाँ छापिने व्यवस्था नहुँदा एउटै व्यक्तिको एकै समयमा दुई अनुमतिपत्र छापिने गरेको उनले बताए ।
राज्यले दोहोरो परिचया पत्र छाप्नुपर्दा घाटा र अर्कातर्फ यातायात कार्यालयमा अनुमति पत्र बढी हुँदा व्यवस्थापनमा समस्या हुने गरेको प्रमुख कपालीले बताए ।
एकै समयमा एउटै व्यक्तिको दुई वटा अनुमति पत्र हुँदा वितरण गर्नका लागि धेरै जनशक्ति लाग्ने गरेको उनको भनाइ थियो ।
प्रमुख कपालीले भने, ‘अहिले हामीसँग अनुमति पत्रको सङ्ख्या दुई लाख छ, तर एक दिनमा लिन आउने पाँच सय जना छ ।’
अहिले कार्यालयमा तीन चार वर्ष पुराना धेरै अनुमति पत्र रहेका छन् । कतिपय सेवाग्राहीको अनुमति पत्र लिन नआउँदै अवधि सकिने गरेको उनले बताए ।
कार्यालयले विभागबाट आउनासाथ वितरण गर्ने भए पनि छापिएर आउनै लामो समय लाग्ने गरेको प्रमुख कपालीको भनाइ थियो । सम्बन्धित व्यक्ति आफैँ पनि नवीकरणका लागि निवेदन दिएर तीन चार वर्षमा आउँदा अवधि सकिने गर्छ ।













