News Griha :: न्यूजगृह
अनैतिक गतिविधि बढेपछि पाटन दरबार स्क्वायरमा नगर प्रहरी सक्रिय

काठमाडौं— ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा हुने अनैतिक क्रियाकलापमा रोक लगाएको छ ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले पाटनका पुरातात्विक क्षेत्रमा बस्न र अनैतिक क्रियाकलाप गर्न रोक लगाइएको जानकारी दिए ।

‘मन्दिर परिसरमा बस्नेहरूले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हो,’ उनले भने, ‘यो विश्व सम्पदा क्षेत्र हो, यो क्षेत्रमा केटाकेटीहरू आएर अनैतिक क्रियाकलाप गर्ने चिया खाने यहीँ फाल्ने र यहाँ बस्दा बहुमूल्य भगवानका चिजहरू सबै बाङ्गो टिङ्गो बनाएर खुट्टाले हानेर बिगारेको छ, त्यसैको सुरक्षाका लागि हामी ललितपुर महानगरले यस्तो नियम बनाएको हो ।’

गत शनिबारदेखि यो नियम लगाइए पनि आजदेखि थप कडाइका साथ लागु गर्न लागिएको उनले बताए ।

‘यो सबैको साझा सम्पत्ति भएकाले यो नियम सबैले मान्नै पर्छ, यो पुर्खाले बनाएको सम्पत्तिलाई सुरक्षा दिनु हामी सबैको जिम्मेवारी हो,’ उनले भने, ‘हामीले यो नियम अस्ति शनिबारदेखि लागु गरेका हौँ, त्योभन्दा अगाडि यो क्षेत्रलाई लभर पोइन्टको रुपमा प्रयोग गरिएको थियो, त्यसले गर्दा वरपरको छिमेकीको कम्पेलन आउने गरेको थियो ।’

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:०१
Weather Update