News Griha :: न्यूजगृह
परराष्ट्र नीतिबारे सरोकार समितिमा छलफल, छरितो नीति बनाउन सुझाव 

काठमाडौं— राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेपालको परराष्ट्र नीतिबारे छलफल भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारको उपायलगायतका सम्बन्धमा छलफल भएको हो ।

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रा. डा. खड्ग केसीले परराष्ट्र नीतिमा सबैलाई स्वीकार्य नीति छैन भने नयाँ परराष्ट्र नीतिको छलफल सुरु गर्नु पर्ने बताए ।

उनले सबैको सहमतिमा धेरै ठूलो नभई सानो नीति आए पनि पुग्ने बताए । ‘पहिलाको सरकारले बनाएको परराष्ट्र नीति अहिलेको सरकारले मान्दैनौँ भन्ने कि नयाँ ल्याउने हो, परराष्ट्र नीति बनाइरहने विषयत होइन्,’ उनले भने, ‘तर, त्यो नीतिमा सबैलाई स्वीकार्य छैन भने नयाँ परराष्ट्र नीतिको छलफल सुरु गरेर बनाइहालौँ, लामो २०–३० पेजको चाहिदैन्, सानो परराष्ट्र नीति बनाए हुन्छ ।

यस्तै, उनले जनताको जीवनभन्दा नेताहरूको जीवन रुपान्तरण भएको हुँदा नेताहरूप्रति नकारात्मक भाव बढेको भन्दै यसलाई हटाउनका लागि नेताहरू पारदर्शी र उत्तरदायी हुनु पर्ने बताए ।

‘राजनीतिमा आन्दोलन गर्ने र समृद्धि हासिल गर्ने एउटै नेतृत्वले गर्न सक्दैन,  रुपान्तरणकारी संस्था परिवर्तन भयो, तर जनताको जीवनमा परिवर्तन आउनुभन्दा नेताहरूको जीवनमा सुधार भएपछि नेताहरूप्रति नकारात्मक भाव बढेको हो,’ उनले थपे, ‘त्यसलाई हटाउनका लागि उहाँहरू पारदर्शी हुनु पर्छ, उत्तरदायी हुनु पर्छ ।’

उक्त, बैठकमा सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावलले सो  विषयमा सरकारसँग छलफल गरेर सरकारलाई जवाफदेही बनाउने प्रयास भइरहेको बताइन् । 

विज्ञहरूको आफ्नो विचारहरूलाई मुलुकका लागि साझा विचार बनाएर काम गर्ने भन्ने हिसाबमा खुल्ला बहस भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:३४
Weather Update